एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले लगातार दोस्रो पटक युइएफए सुपर कपको उपाधि जितेको छ। युरोपेली फुटबल सिजनको औपचारिक सुरुआत मानिने यस वार्षिक भिडन्तमा पिएसजीले पुन: आफ्नो वर्चस्व कायम गरेको हो।

बुधबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलको ६१औँ मिनेटमा उसमान डेम्बेलेको पासमा दुएले गोल गरेका थिए। सुरुमा अफसाइड घोषित गरिएको उक्त गोललाई भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि मान्यता दिइएको थियो।

यसअघि खेलको २०औँ मिनेटमा ख्विचा क्वा्रत्स्खेलियाको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि पिएसजीले सुरुवाती अग्रता लिएको थियो। तर, भिल्लाका लागि १७ वर्षीय स्ट्राइकर ब्रायन माड्जोले उत्कृष्ट भली गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

यो जितसँगै पिएसजी यो सिजन सम्भावित छ वटा उपाधिमध्ये पहिलो उपाधि चुम्न सफल भएको छ। साथै, रियल म्याड्रिडपछि लगातार दुई पटक सुपर कप जित्ने पिएसजी पहिलो टोली बनेको छ।

विवादास्पद रेफ्री

अस्ट्रियाको साल्जबर्गमा भएको उक्त खेलको मुख्य रेफ्री सोमाली नागरिक ओमार अर्टान थिए। सुरक्षा जाँचका क्रममा “आतङ्ककारी” सङ्गठनसँग सम्बन्ध रहेको दाबी गर्दै अमेरिकाले फिफा विश्वकप सुरु हुनु केही दिनअघि अर्टानलाई प्रतिबन्ध लगाएको थियो। यद्यपि अमेरिकाले यसको कुनै प्रमाण भने सार्वजनिक गरेको थिएन।

फिफासँगको बढ्दो विवादका बिच अफ्रिकाका उत्कृष्ट रेफ्री चुनिएका अर्टानलाई युइएफएले यो महत्त्वपूर्ण खेलको जिम्मेवारी दिएको हो। अर्टान युइएफए सुपर कप सञ्चालन गर्ने पहिलो गैर-युरोपेली रेफ्री समेत बनेका छन्। खेल अवधिभर उनले एस्टन भिल्लाका तीन खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्