आमाको नागरिकतामा छोराको हस्ताक्षर, गद‍्‍गद भइन् मोतिकला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - रुकुम पश्चिममा आमाको नागरिकता प्रतिलिपिमा छोराले हस्ताक्षर गरेको खबर अहिले चर्चामा छ । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले अस्ति बुधवार आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गर्ने अवसर पाएको हो ।

यो क्षणलाई उहाँले सामाजिक सञ्जालमा राखेपछि यसको चर्चा भैरहेको छ । सरकारी जिम्मेवारी सम्हालिरहेका उहाँले आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गरेर आमालाई बुझाउने अवसर पाएको हो । आमाको नागरिकतामा आफ्नै हातले हस्ताक्षर गर्न पाउँदा सहायक प्रमुख जिल्ला अधिकारी ओली खुशी र भावुक भएको हो ।

उहाँले त्यो क्षणको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै लेखेको छ, ‘सधैँ नमिल्ने एक खुशी : आफ्नै आमाको नागरिकतामा यो छोराको आफ्नै हातले साइन गर्दा हात काँप्यो, मन बहकायो । किनकि भारी खुशी र गर्व थियो ।’

उहाँले सामाजिक सञ्जालमा राखेको यो भिडियो यतिबेला निकै चर्चित भएको छ । सरकारी कर्मचारीको लागि यो ऐतिहासिक र विरलै मिल्ने अवसर भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उहाँलाई बधाई दिएका छन् ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की मोतिकला ओलीको नागरिकता केही समयअघि पानी परेर च्यातिएको थियो । नागरिकताको प्रतिलिपि लिन अस्ति बुधवार जिल्ला प्रशासन कार्यालय पुग्दा आफ्नै छोराले हस्ताक्षर गरेपछि आमा मोतिकला पनि खुशीले गदगद भएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्